वेबटिभी खबर
चितवन । सरकारले आइतबार ल्याएको बजेटले निजी क्षेत्र उत्साहित भएको छ । ठूलो आकारको बजेट भएकाले कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताइएको छ ।
देशकै मध्यभागमा रहेको चितवनका उद्योगी व्यवसायी बजेट निजी क्षेत्रमैत्री भएको बताउँछन् । उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठले बजेटमा उद्योगका धेरै कुरा समेटिएको बताए ।
उनले भने, ‘आकार ठूलो हुँदा कार्यान्वयनमा समस्या हुन्छ कि भन्नेमा हामीहरूमा चिन्ता छ ।’ बजेटले चितवनको भौतिक निर्माणका विषयलाई सम्बोधन गरेको भन्दै अध्यक्ष श्रेष्ठ छिमेकी सहरको केन्द्रकारूपमा यसलाई विकास गर्न खोज्नु सकारात्मक रहेको बताए ।
उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल बजेट सकारात्मक गरेको बताए । शक्तिखोरमा लामो समयदेखि प्रक्रियामा रहेको औद्योगिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी बनाउने विषय निकै महत्वपूर्ण भएको उनको भनाइ छ ।
सरकारी प्रक्रियाका कारण ढिलो भएको र अब यसले गति लिने उल्लेख गर्दै पूर्वअध्यक्ष पौडेल भने, ‘बजेटले समाजवाद उन्मुख हुने प्रयत्न गरेको छ ।’
पचास बिघासम्मको जमिनलाई हदबन्दी नलाग्ने, निर्यातमा सहुलियत बढाउने, उद्योग र व्यापारमा व्याजदर फरक, किसान पेन्सन, कृषकलाई ५ अर्बको लघुबित्तमार्फत ऋण जस्ता कार्यक्रम महत्वपूर्ण रहेको छ ।’
पर्यटन व्यवसायीले पनि बजेटलाई सकारात्मक भनेका छन् । कोभिडका कारण थला परेको व्यवसाय उकास्न बजेट सहयोगी हुने उनीहरूको बुझाइ छ । क्षेत्रीय होटल संघका जिल्लाअध्यक्ष दीपक भट्टराई समग्रमा बजेट स्वागत योग्य रहेको बताए ।
पर्यटन क्षेत्रमा नयाँ कुरा नआए पनि पुराना महत्वपूर्ण पक्षलाई समाबेस गरिएको भन्दै उनले भौतिक पूर्वाधारमार्फत सहजरूपमा सहरलाई जोड्नु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको बताए । उनले भने, ‘कार्यान्वयन पक्ष राम्रो भयो भने बजेट सकारात्मक छ ।’
पोल्ट्री क्षेत्रमा भने बजेटले सम्बोधन गर्न नसकेको सम्बद्ध व्यवसायीको गुनासो छ । नेपाल दाना उद्योग संघ केन्द्रीय समितिका पूर्वध्यक्ष डा.तिलचन्द्र भट्टराईले पोल्ट्री क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको बताएका छन् ।
विगत तीन वर्षदेखि भटमासमा लाग्दै आएको ९ प्रतिशत र मकैमा ५ प्रतिशत भन्सार शुल्क घट्नुपर्ने माग व्यवसायीको छ । शतप्रतिशत भटमास र ७० प्रतिशत मकै बाहिरबाटै आउँछ ।
पूर्व अध्यक्ष भट्टराईले कोभिड र बर्डफ्लुका कारण थलिएको पोल्ट्री क्षेत्रलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा त्यसो नहुँदा व्यवसायी विस्थापित हुनेसक्ने गुनासो गरेका छन् । अन्य क्षेत्रलाई सम्बोधन गरिए पनि पोल्ट्री क्षेत्रलाई प्रत्येक्ष छुन नसकेको भन्दै उनले उद्योगलाई दिइने सुविधाबाट भने केही हदसम्म लाभ लिन सक्नेमा आशावादी भएको बताए ।
पचास बिघासम्मका जग्गालाई उद्योगमा हदबन्दी नलाग्ने निर्णयले उद्योगी लाभान्वित हुने देखिएको छ । केरा व्यवसायी संघका पूर्वजिल्ला अध्यक्ष यज्ञप्रसाद सुवेदी बजेटले कृषि क्षेत्रलाई समेटे पनि कार्यान्वयन पक्ष भने हेर्न बाँकी रहेको बताए ।
उनले भने, ‘बजेटमा सम्बोधन भएपनि कार्यान्वयन नहुँदा समस्या हुने गरेको छ ।’ बजेटमा कृषि क्षेत्रलाई समेटेका कारण यहाँका कृषक बजेटप्रति सकारात्मक छन् । यद्यपि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्नेबारेमा ढुक्क हुन नसकेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij