वेबटिभी खबर
काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गरिने र त्यसपछि थप बस ल्याउने गरी तयारी गरेको हो ।
केही दिन पहिले ल्याइएका तीन बसको साझाले परीक्षण गर्ने सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । उनका अनुसार यातायात व्यवस्था विभागले पनि सञ्चालन पहिले गर्नुपर्ने आवश्यक परीक्षण गर्नेछ । सरकारले कहाँ र कहिले रुट दिन्छ त्यसैका आधारमा बस सञ्चालन गरिने उनले जानकारी दिए ।
उनले भने,‘अहिले परीक्षणकै लागि सञ्चालन गरिनेछ ।’ साझाले हाल सञ्चालन गरिरहेका ठूला बसभन्दा विद्युतीय बस थोरै सानो रहेको कम्पनीले जनाएको छ । यो बसमा २६ सिट र क्षमता १६१ किलोवाट-आवर रहेको छ । अहिले बससँगै दुई चार्ज आएको छ ।
बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । यो बस दिनभर गुडाएर राति चार्ज गर्न सकिन्छ । उनले भने, ‘राति तीन चार घण्टा चार्ज गरेपछि अर्को दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।’
अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । बसको लम्बाइ साढे आठ मिटर रहेको छ । यो बस अपाङ्तामैत्री रहेको उनले बताए । होचो (लो फ्लोर) रहेकाले अपांगता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान रहेको छ ।
मोबाइल चार्ज गर्ने ठाउँ, गन्तब्यका बारेमा जानकारी र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । उनले भने, ‘अरु बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेका छन् ।’ पेट्रोलियम पदार्थका सवारीसाधन जस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमा भन्दा कम रहेको छ ।
बसमा थर्काइ (भाइब्रेसन) पनि कम छ । पेट्रोलियम पदार्थबाट चल्ने बसभन्दा विद्युतीय बसका लागि राम्रो सडक आवश्यक भएकाले उपत्यकाका सबै स्थानमा चलाउन नसकिने साझाको अनुमान छ । अहिले उपत्यकाका खाल्डा भएका सबै सडकमा गुडाउन नसकिने सञ्चालक सदस्य तुलाधरले बताए ।
सडक पूरै बिग्रिएमा चलाउन नसकिने भए पनि सानो खाल्डोले फरक नपर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । उनले भने,‘अहिलेका लागि दक्षिणकाली जाने सडकमा गुडाउन सकिँदैन । लगनखेल-चक्रपथ वा भक्तपुरको सडकमा चलाउन सकिनेछ ।’ यसअघि पनि सोही कम्पनीको दुई बस काठमाडौं आएका थिए ।
उक्त बस अहिले गुण एयरलाइन्सले विमानस्थलमा सञ्चालन गरिरहेको छ । अहिले तीन बस सञ्चालन गरेर परीक्षण भइरहँदा उता थप बसको पनि निर्माण अघि बढिरहेको छ ।४० वटा बस चार/पाँच महिनामा आइसक्ने सक्ने बताइएको छ ।
उनले भने, ‘बसमा कुनै-कुनै कुरामा आवश्यक हुँदा परिवर्तन भए पनि ठूलो परिवर्तन हुँदैन ।’ संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ ।
सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।
संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार ९ वटा कम्पनीले बुझाएको बोलपत्रको मूल्यांकन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको कम्पनीको प्रस्ताव स्वीकृत गरिएको हो ।
सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij