Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सडक खाना महोत्सवमा ५० हजार पर्यटक

सडक खाना महोत्सवमा ५० हजार पर्यटक

  • 389
    SHARES
  • सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटकले महोत्सव अवलोकन गरेका हुन् ।

    चैत ३० गतेदेखि सुरुभएको महोत्सव शुक्रबार सकिएको छ । महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको संख्या न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए ।

    ‘दिउँसो आउनेको संख्या अत्यधिक रह्यो, तीन दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको संख्या भने कमै भयो’, प्रधानले भने । उनका अनुसार बास बस्ने पर्यटकको संख्या दैनिक २ हजार रहेको थियो ।

    बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् ।

    सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ को प्रस्तुत गरिएकाे थियाे  । बन्दीपुरमा होटल संघसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् ।

    बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छन् ।

    भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानिवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij