Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

माछाका भुरा बिक्रीमा कमी

माछाका भुरा बिक्रीमा कमी

  • 621
    SHARES
  • माछाका भुरा बिक्रीमा कमी

    काठमाडौं । माछाका भुरा विक्री नहुँदा शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी तनावमा छन् । कोरोनाको संक्रमणका कारण ह्याचरी फारममा उत्पादन भएका माछाका भुरा बिक्री नहुँदा उनले घाटा व्यहोर्नुपरिरहेको छ ।

    उनले प्रतिवर्ष  २५ देखि ३० लाख रुपैयाँसम्मका विभिन्न जातका करिब तीन करोड माछाका भुरा बिक्री गर्दै आएका थिए । कोरोना संक्रमण र बन्दाबन्दीका कारण उनको व्यवसाय ठप्प जस्तै बनेको छ । अहिले कोरोना संक्रमण न्युन भएपनि माछा पालकहरू भूरा किन्न नआउँदा उनलाई घाटा लाग्न थालेको छ ।

    अघिल्ला वर्षहरुमा ३० लाख रुपैयाँसम्मको माछाका भुरा बेच्ने उनले यो वर्ष करिब ७ लाख रुपैयाँ बराबरका मात्र भुरा बिक्री गरेका छन् । एउटै पोखरीमा धेरै माछा राख्दा माछा राम्रोसँग नबढेकाले घाटा लागेको उनले बताए । हाल कोरोनाको संक्रमण कम हुँदै गएपछि ग्राहक आउन थालेपनि पहिलाको जस्तो विक्री वितरण भने हुन नसकेको उनको भनाइ छ ।

    ठूलो सङ्ख्यामा कमन, ग्रास, सिल्भर, विगेट, रहु, नैनी, भ्याकुर र सुधारिएका जातका माछाका भुरा उत्पादन गर्ने व्यवसायीका रुपमा जिल्लामै पल्टु परिचित रहेका छन । ह्याचरीमा उत्पादन भएका माछाका भुरा सुदूरपश्चिमका सात वटा जिल्लासहित बर्दियासम्म बिक्री हुने गरेका छन् ।

    माछापालकले ह्याचरीमै पुगेर माछाका भुरा खरिद गरी लग्ने गरेका छन् । कोरोना संक्रमणअघि २०० देखि ३०० बढी माछा पालकले ह्याचरीमा उत्पादन गरेका भुरा लैजाने गरेको उनको भनाइ छ । 
    पहिलेका तुलनामा अहिले माछा खरिद गर्नेहरूका संख्या आधा भन्दा बढीले घटेको उनले बताए ।

    दुई बिघा १० कठ्ठा जग्गा आफ्नै स्वामित्वको र पाँच बिघा जग्गा भाडामा लिएर उनले ह्याचरी सञ्चालन गर्दै आएका छन् । उक्त जग्गामा १७  पोखरी निर्माण गरी माछाका भुरा उत्पादन गरिरहेको उनले जानकारी दिए । कृषक चौधरीले विसं २०५७ देखि निरन्तर माछाका भुरा उत्पादन गर्दै आइरहेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij