एजेन्सी
इस्लामाबाद । आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।
केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएका थिए ।
अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद् विघटन गर्न सिफारिस गरेका हुन् ।
पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ । इमरान खानको सिफारिसलगत्तै राष्ट्रपति अल्भीले संसद् विघटन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
राष्ट्रपतिले संसद् विघटन गरेसँगै पाकिस्तानमा अब ९० दिनभित्र चुनाव हुने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij