वेबटिभी खबर
म्याग्दी । म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ ।
बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक ६ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दशैंसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिए ।
‘मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसैंसम्मका लागि समय तालिका हटाएका छौं’, उनले भने, ‘सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने व्यवस्था मिलाएका छौं ।’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिर, वडा नं-२ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समय तालिका बनाइएको थियो ।
यस वर्षको चैते दशैं पर्व चैत २६ गते परेको छ । चैते दशैंको समयमा मुस्ताङको कागबेनीमा दिवंगत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ । भ्रमणको याम भएकाले स्वदेश तथा विदेशबाट मुस्ताङ घुम्न आएका पर्यटकको चाप पनि बढेको हो । मुस्ताङमा केही दिनयता दैनिक ३ हजारको हाराहारीमा तीर्थयात्री र पर्यटक भित्रिएका छन् ।
२०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरीको बेनी-जोमसोम-कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङका छ खण्डमा निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij