वेबटिभी खबर
मोरङ । मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवनमा आम नागरिकको उत्साह देखिएको छ । जनस्वास्थ्य कार्यालय मोरङद्वारा शनिबार आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधी सेवन’ शुभारम्भ कार्यक्रममा उक्त उत्साह देखिएको हो ।
व्यक्तिको उचाइअनुसार ९ वटा चक्कीसम्म खान हुने सो औषधी छारेरोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिकाले सेवन गर्न नहुने चिकित्सकले बताएका छन् ।
जुकाको औषधीसमेत खुवाइने यो अभियान मोरङमा १४ दिनसम्म चल्ने र करिब १० लाख मानिसले औषधी सेवन गर्ने स्वास्थ्य कार्यालयका अधिकृत धरणीधर निरौलाले बताए । उनले यो औषधी सेवन गराउन जिल्लाभरि ७३२ जना स्वयंसेवक परिचालन भएको र यसपटकको औषधी सेवन ११ औं भएको जानकारी दिए ।
उक्त अवसरमा इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले यो औषधी सेवन गर्न योग्य मानिसलाई प्रतिकूल असर नगर्ने भएकाले निर्धक्क भएर औषधी सेवन गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले हात्तीपाइले रोगले मानिसलाई अपांगसम्म बनाउनसक्ने भएकाले यो औषधी सेवन गर्न सुझाव दिए । कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य सचिव डा.अनुज भट्टचन र संघीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले पनि औषधी सेवनले मानिसको जीवन सरल र स्वस्थ्य हुने बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij