वेबटिभी खबर
लमजुङ । लमजुङमा घरेलु हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारदेखि प्रहरीले विभिन्न प्रयास गर्दै आएपनि यसमा कुनै कमी आउन सकेको छैनन् । गरिबी तथा अशिक्षा, चेतनाको कमी, बेरोजगार र मादक पदार्थ सेवन लगायतका कारणले जिल्लामा घरेलु हिंसा बढ्दै गएको हो ।
चालु आव २०७८/७९ मा साउनदेखि फागुन महिनाको २३ गतेसम्म ३३ वटा घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए । उनका अनुसार ती उजुरी मध्ये २६ वटा मिलापत्रमै सीमित भएका छन् भने चारवटा अदालती प्रक्रियामा गएका र तीनवटाको काम भइरहेको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा ९२ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी कार्यालयका अनुसार ६० वटा मुद्दा मिलापत्र भएको, २३ वटाको अदालती प्रक्रिया र आठवटाको काम भइरहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजुरी परेका थिए । यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो । उक्त निवेदनमध्ये ९ मिलापत्र भएको र ३ वटाको काम भइरहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ७९ वटा उजुरी परेको थियो । तीमध्ये ४५ वटा मिलापत्र भइसकेको छ । १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटाको काम भइरहेको बताइएको छ ।
यस चालु आवको साउनदेखि हालसम्म प्रहरी कार्यालयमा १५ वटा ठाडो उजुरी परेको छ । तीमध्ये १३ वटा मिलापत्र भएको, २ वटाको काम भइरहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा २९ वटा ठाडो उजुरी प्रहरीमा परेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
उनले भने, ‘ती उजुरीमध्ये २१ वटा उजुरी मिलापत्र गरेको, २ वटा अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ ।’ आव २०७६/७७ मा कार्यालयमा १८ वटा ठाडो उजुरी परेकामा ११ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको छ ।
२०७५/७६ मा सबैभन्दा धेरै १२६ वटा ठाडो उजुरीका निवेदन परेकामा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटाको काम भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आएपनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी निरीक्षक रेग्मी भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij