वेबटिभी खबर
झापा । झापा जिल्लाका १५ पालिकामध्ये अधिकांशले नयाँ प्रशासनिक भवन बनाएका छन् भने कतिपयले बजेट अभावका कारण नयाँ भवन बनाउन नसक्दा पुरानै भवनबाट जनतालाई सेवा प्रवाह गरिरहेका छन् । शिवसताक्षी, कनकाई, गौरादह, भद्रपुर र अर्जुनधारा नगरपालिकाले फराकिलो स्थानमा नयाँ प्रविधिमैत्री भवन बनाएर कार्यालय सारेका हुन् ।
यी पालिकाभित्र रहेका अधिकांश वडा कार्यालयले समेत नयाँ भवन बनाएका छन् । मेचीनगर नगरपालिकाले पुरानै भवनमा काम गरिरहेको छ भने दमक र विर्तामोड नगरपालिकाले पुरानो भवनलाई व्यवस्थित बनाई आवश्यक सुविधा सम्पन्न भवन थपेर सेवा प्रदान गरिरहेका छन् ।
यसैगरी ७ गाउँपालिकामध्ये झापा गाउँपालिकाले १ करोड ५६ लाख ८४ हजार ७७९ को लागतमा प्रशासनिक भवन निर्माण गरेको छ । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सबै सेवा प्रवाह गर्दै आएकामा वडा नं-३ मा आफ्नै भवन निर्माण गरेर अब सेवा प्रवाह गर्ने भएको हो ।
गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जमिन प्रदान गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यसअघि झापा गाउँपालिकामा चारवटा वडा कार्यालयको भवन निर्माण गरी सेवा प्रवाह भइरहेको बताए ।
स्थानीय देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी, चित्रवहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेको थिए । कचनकवल गाउँपालिकाले समेत वडा नं-७ मा स्थानीय दाताले दिएको १५ कठ्ठा जमिनमा नयाँ प्रशासनिक भवन धमाधम निर्माण गरिरहेको छ ।
डेढ वर्षअघिसम्म भाडामा रहेको कार्यालय हाल बनियानी स्वास्थ्य चौकी नयाँ भवन बनाएर सरेपछि सोही स्थानबाट पालिकाले सेवा प्रवाह गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।
बाह्रदशी गाउँपालिकाले वडा नं-४ मा रहेको डेढ बिघा जमिनमा प्रशासनिक भवन निर्माणका लागि डिपिआर तयार गरे पनि बजेट अभावमा बनाउन नसकेको जनाएको छ । कार्यालयले पुरानो गाविसको भवनमा नयाँ भवन थपेर हाल सेवा दिइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईले बताए ।
हल्दिबारी गाउँपालिकाले वडा नं-५ मा स्थानीय दाताले प्रदान गरेको १ बिघा १८ कठ्ठा जमिनमा ५ करोड बढीको लागतमा भूकम्प प्रतिरोधी, अपांगमैत्री ७ वटा भवन बनाइसकेको छ । सो भवनबाट आगामी चैतको अन्तिम सातादेखि सेवा प्रदान गर्नेगरि आन्तरिक तयारी भइरहेको पालिकाका सूचना अधिकृत राजन न्यौपानेले बताए ।
बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाले यसअघि नै भवन निर्माण गरी सेवा प्रदान गरिरहेका छन् भने कमल गाउँपालिकाले पुरानै कार्यालयको छेउमा नयाँ भवन बनाइरहेको जनाएको छ । कमल, गौरीगञ्ज, हल्दिबारीलगायत पालिकाले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij