वेबटिभी खबर
मनाङ । भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको सडकखण्ड सञ्चालन भएको छ । भारी हिमपात पछि पुरिएको सडकको हिउँ पन्छाए पछि सवारीसाधन पुनः सञ्चालनमा आएको हो ।
गत फागुन ८ गते देखि लगातारको हिमपातले जिल्लाको अधिकांश भेगमा बाक्लो हिउँ जमेको थियो । हिउँका कारण सडक अवरुद्ध भएपछि ६ दिन लगाएर जिल्लाका सडकका हिउँ हटाएर सवारी आवागमन सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ । जिल्लाका केही स्थानीयले जेसिबी र जनप्रतिनिधि, प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ पन्छाएपछि यातायात सञ्चालनमा आएको प्रजिअ आचार्यले बताए ।
उनले भने, ‘जमेको हिउँ पन्छाएर सडक खुलेपछि आवातजावत हुन थालेको छ । यसले आवातजावतमा सहज बनाउनेछ ।’ हिउँका कारण दैनिक उपभोग्य लगायत खाद्यान्न तथा मालसामान ढुवानीमा समस्या हुँदै आएको थियो ।
हिउँ पन्छाउन गाउँपालिकाका जनप्रतिनिधि आर्फं मैदानमा खटिएका थिए । हिमपातले हिमाली क्षेत्रका किसानमा उत्साह छाएको छ । तर सडकमा लामो समयसम्म हिउँ रहँदा स्थानीयले सास्ती खेप्नु परेको उनीहरु बताउँछन् ।
यस्तै हिउँ पन्छाए लगत्तै प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्लावासीको अवस्था विभिन्न स्थानमा गएर अनुगमन गरिएको छ । चिसोमा जनजीवनको अवस्थाको निरीक्षण गर्दा अतिविपन्न परिवारलाई न्यानो कपडासमेत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij