वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।
संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गरिने छ ।
सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन्।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए ।
एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् ।
प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij