मिलन दाहाल
काठमाडौं । कांग्रेस नेताहरू संसदमा टेबुल भएको अमेरिकी सहयोग परियाेजना (एमसीसी) पारित गराउन अन्य दलको सहयोग जुटाउने दौडधुपमा व्यस्त छन् । गुटमा विभाजित कांग्रेसका नेताहरू एमसीसी पारित गराउने विषयमा भने एकढिक्का भएर अन्य दलको समर्थन जुटाउने चटारोमा छन् ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारमा रहेका कांग्रेसका मन्त्री, संस्थापन इतरका नेता सबै एमसीसी पारित गराउने अभियानमा एक मत देखिएका छन् । देउवा इतर खेमाको भनेर चिनिएका कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेल र डा.मिनेन्द्र रिजाल देउवाको सन्देश लिएर अन्य दललाई मनाउने प्रयासमा जुटेका छन् ।
त्यसैगरी महामन्त्री गगन थापा पनि यो विषयमा खुलेर सरकारको अभियानलाई सघाइरहेका छन् । कांग्रेस नेताहरूले प्रमुख प्रतिपक्षी दल, सत्ता गठबन्धनका एमसीसीको विपक्षमा रहेका दलका नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।
संसदमा टेबुल भइसकेको बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने भएपछि प्रधानमन्त्री देउवासँगै कांग्रेसका शीर्ष नेताहरू सक्रिय भएका हुन् ।
एसमीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा आफैं कहिले एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट त कहिले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगिरहेका छन् ।
सत्ताघटक दल नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीले संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा विरोध जनाएपछि प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर भएपनि एमसीसी अनुमोदन गराउने पक्षमा प्रधानमन्त्री देउवा देखिएका छन् ।
माओवादी केन्द्रका शीर्ष नेताहरूले जबर्जस्ती एमसीसी अनुमोदन गर्न खोजे सत्ताबाट बाहिरिने बताएका छन् । त्यस्तै एकिकृत समाजवादी पार्टीले पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्ने विषयमा मतदान नगर्ने बताउँदै आएको छ । तर एमसीसी अनुमोदनको सवालमा माओवादी केन्द्रको तुलनामा समाजवादी केही लचक देखिएको छ ।
एसमीसीमा सहमति जुटाउन कुन नेता कसलाई भेट्न कहाँ गए ?
एमसीसीलाई जुनसुकै हालतमा पनि संसदबाट अनुमोदन गराउने अडान लिएका प्रधानमन्त्री देउवा नै यतिबेला एमसीसीमा अन्य दलको पनि सहमति जुटाउन दौडधुपमा छन् ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसँग भेट गरेको प्रधानमन्त्री देउवा बुधबार बिहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमटार पुगे । ओलीसँग मंगलबारको भेट र प्रचण्डसँग बुधबार बिहानको भेट एमसीसीमा समर्थन जुटाउनमै केन्द्रित थियो ।
अघिल्लो साँझ आफैंले भेट गरे पनि बुधबार बिहानै एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बालकोट पठाएका छन् । एमसीसी, प्रतिनिधिसभा अवरोधलगायत विषयमा वार्ता गर्न गएका खाणलाई अध्यक्ष ओलीले एमसीसीको विषयमा एमालेका धारण स्पष्ट रहेको र पहिला एमालेलाई सरकारले न्याय दिनुपर्नै बताएको ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले बताए ।
त्यस्तै गत फागुन ५ गते बिहिबार दिउँसो कांग्रेस नेता डा.मिनेन्द्र रिजालले एमाले अध्यक्ष ओलीलाई भेट्न खुमलटार पुगेको थिए । सत्ता गठबन्धनको बैठक बस्नुअघि डा. रिजाल एमसीसीबारे ओलीको धारणा बुझ्न बालकोट पुगका थिए । नेता रिजालले एमसीसी, संसद अवरोधलगायतका विषयमा ओलीसँग छलफल गरेका थिए ।
रिजालले दिउँसो ओलीलाई भेटेपछि सोही दिन साँझ सत्ता गठबनधनको बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगे । प्रधानमन्त्री देउवासँगै उनकी श्रीमती आरजु राणा देउवा पनि बालकोट पुगेकी थिइन् । प्रधानमन्त्री देउवाले महत्त्वपूर्ण निर्णय गर्दा प्राय: श्रीमतीलाई पनि सहभागी गराउने भएकाले उक्त भेटघाटलाई महत्त्वका साथ हेरिएको थियो ।
सत्ता गठवन्धनका दल एमसीसी अनुनमोदनमा सकारात्मक नदेखिएपछि ओली भेट्न प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए । रामचन्द्र पौडेलले सोमबार माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दल पुगेर अध्यक्ष प्रचण्डलाई भेटे । पौडेलले प्रचण्डसँग एमसीसी, सरकारमा गठबन्धनको निरन्तरता लगायत विषयमा कुरा गरेका थिए ।
यही विषयमा कुरा गर्न सोही दिन नेता पौडेलले जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि भेटेका थिए । देउवाले नै पार्टीका तर्फबाट पौडेललाई सत्तारूढ गठबन्धनका दलहरूसँग वार्ताका लागि जिम्मेवारी दिएर पठाएको बुझिएको छ ।
जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई एसमीसीको पक्षमा खुले पनि अध्यक्ष उपेन्द्र यादवको धारणा सार्वजनिक भएको छैन । उनी एमसीसीको विपक्षमा भएको बताइएको छ । जसपाले एमसीसीबारे आधिकारीक धारणा बनाउन शुक्रबार बैठक डाकेको छ । बिहीबार संसदमा एमसीसीबारे छलफल हुने भए पनि जसपाले त्यसको भोलिपल्ट बैठक डाकेको हो ।
त्यस्तै एकिकृत समाजवादी एमसीसीलाई संसदमा टेबुल गर्न तयार भएपनि अनुमोदन गर्ने विषयमा भने तयार भइसकेको छैन । एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवालाई अमेरिकाले आगामी फागुन १६ गतेसम्मको समय दिएको छ ।
त्यसकारण पनि प्रधानमन्त्री देउवा एसमीसी संसदबाट अनुमोदन गराउनुपर्ने चटारोमा छन् । ओली प्रधानमन्त्री हुँदा एमसीसी पास गराउन सक्रिय भएकाले अहिले पनि एमालेको साथ पाउने आशामा कांग्रेस रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij