Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दुई खानेपानी आयोजना सञ्चालनको तयारीमा

दुई खानेपानी आयोजना सञ्चालनको तयारीमा

  • 472
    SHARES
  • दुई खानेपानी आयोजना सञ्चालनको तयारीमा

    बेनी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजनाले सञ्चालनका लागि तयारी थालेका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गर्ने तयारी गरेको हो ।

    रघुगङ्गा-२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी-५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका-६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।

    दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदीप रेग्मीले जानकारी दिए । दुवै आयोजनालाई ठेक्का सम्झौता भएको २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

    दुवै योजनाको सर्वेको काम सकेर लागतअनुमान तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त आयोजनाहरुमा कूल लागतमध्ये ९० प्रतिशत संघीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्नेछ ।

    ठूलो आयोजना भएकाले उपभोक्ताले नगद लगानी गर्न सक्ने अवस्था नदेखिएपछि १० प्रतिशत श्रमदान बापतको रकम नगद नै जम्मा गर्नुपर्ने भएकाले उक्त रकमको सुनिश्चिता स्थानीय तहमार्फत गराउन पहलसमेत सुरु गरिएको आयोजनाले जनाएको छ । घोप्टेखोलाबाट २ हजार ६५८ र भगवती पिप्ले खानेपानी आयोजनाबाट २ हजार ४१६ घरधुरी लाभान्वित हुने इन्जिनियर रेग्मीले जानकारी दिए ।

    रघुगङ्गा-७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्यांकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने प्रस्ताव गरिएको छ । यो आयोजना निर्माणका लागी ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ ।

    रघुगङ्गा-६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्यांकीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । यो योजना सम्पन्न गर्न ३८ करोड लागत अनुमान गरिएको छ ।

    कार्यालयमार्फत यस वर्ष बेनीबजार खानेपानी गुणस्तर सुधारका लागि १ करोड २५ लाख बजेटबाट बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर ट्यांकी निर्माण सुरु भएको छ ।

    त्यसैगरी बेनीबजारमा बर्खायाममा हुने खानेपानीको पाइपलाइनमा बाढीपहिराको अवरोधका कारण निम्तिने खानेपानीको हाहाकारको समस्या हटाउन वैकल्पिक पानीको व्यवस्थापनका लागि म्याग्दी खोलाबाट पम्पिङको लागिसमेत ४० लाख बजेट विनियोजन भएको छ ।

    चालु आर्थिक वर्षमै भुरुङ, दाना गाडपार, घोडेपानी खिवाङ, दरबाङ, राखु भगवती सुधार विस्तार र ज्यामरुकोट ठूलो खोला राताभिर खानेपानीको समेत सर्वेको चरणमा रहेको छ । यस कार्यालयमार्फत अन्नपूर्ण गाउँपालिका-६ घार बृहत् खानेपानीका लागी ३० लाख बजेट र वडा नं १ दोबामा १५ लाख बजेटबाट खानेपानी आयोजनाको काम भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij