वेबटिभी खबर
हुम्ला । हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामी बढेका छन् । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको संख्या दिनप्रति दिन बढ्दै गएका हुन् ।
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमणदर देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको संख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । माघ महिना सकिएर फागुन लागेयता यस क्षेत्रमा बिरामीको संख्या वृद्धि भएको हो ।
भाइरल ज्वरोका बिरामी बढेपछि जिल्लाभरका स्वास्थ्यचौकीमा उपचार गर्न जाने बिरामीको घुइँचो लाग्ने गरेको छ । एक हप्ताको अवधिमा अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीमा १६७ जना भाइरल ज्वरोका बिरामी उपचारमा आएको स्वास्थ्यचौकीका अहेब अशोक महताराले बताए ।
माघ महिनाको अन्तिमदेखि यस क्षेत्रमा बिरामीको संख्या बढेको र छोटो समयमै ४०० भन्दाबढी ज्वरोका बिरामी उपचारमा आएको अहेब महताराले जानकारी दिए । कोरोनासँगै मिल्दोजुल्दो लक्षण भएपनि कोरोना परीक्षण गर्ने किट अभावका कारण जाँच गर्न समस्या भएको छ ।
देशभरि कोभिडका बिरामीको संख्या घट्दै जाँदा हुम्लामा उक्त भाइरससँग मिल्दो लक्षणका बिरामीको संख्या बढ्न थालेको हो । हुम्लाको अदानचुलीमा मात्र नभई अन्य गाउँपालिकामा पनि बिमारीको बढ्दै भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
सात स्थानीय तह रहेको हुम्लामा प्रायः भाइरल ज्वरोका बिरामी भेटिन थालेका हुन् । जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा यतिबेला किटको अभाव भएको छ । किट अभाव हुँदा स्वास्थ्यकर्मीलाई जाँच गर्न असहज भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij