वेबटिभी खबर
तनहुँ । चालु आर्थिक वर्षको पहिलो ६ महिना तनहुँमा १ हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, ४ सूचना तथा प्रविधिमूलक रहेका छन् ।
कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलकलगायतका उद्योग दर्ता हुँदै आएका छन् । दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा २ हजार १ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ३ हजार ५१५ उद्योग थपिएको थियो । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए ।
‘कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्’, उनले भने, ‘कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।’ जिल्लामा दर्ता भएका उद्योगले ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
कार्यालयले सोही अवधिमा ३० लाख भन्दा बढी राजस्व संकलन गरेको छ । दर्ता भएका उद्योगबाट ३० लाख ४३ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार १ लाखसम्म पुँजी भएको उद्योगले १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले ३ हजार १ सय,५ लाखसम्म पुँजी भएको उद्योगले ६ हजार १ सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार १ सय ,१ करोडसम्म पुँजी भएको उद्योगले २० हजार १ सय, ५ करोडसम्म पुँजी भएको उद्योगले ३० हजार १ सय र ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij