वेबटिभी खबर
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्रयाक्टर वितरण गरेको थियो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्रयाक्टर वितरण गरेको हो ।
परम्परागत रुपमा कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले हाते ट्रयाक्टर वितरण गरेको हो । गोरुको सहायताले खेतबारी गर्दै आएका कृषक हाते ट्रयाक्टर पाएपछि खुशी भएका छन् ।
गाउँपालिकाले कृषकलाई प्रविधि हस्तान्तरणसँगै सीप पनि सिकाउन थालेको छ । हाते ट्रयाक्टर बिग्रिए मर्मतका लागि पोखरा अथवा दमौली लैजानुपर्ने बाध्यता रहेकाले कृषक स्वयम्लाई मर्मतसम्बन्धी ज्ञान प्रदान गरिएको गाउँपालिकाका उद्योग शाखाप्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।
‘कृषकलाई हाते ट्रयाक्टर दियौं, तर बिग्रियो भने बनाउन अन्यत्रै लैजानुपर्ने बाध्यताको अन्त्य गर्न सीप पनि दिएका छौं’, उनले भने, ‘यसले गर्दा कृषकले आफैले हाते ट्रयाक्टरको मर्मत गर्न सक्छन् ।’ट्रयाक्टरमा सामान्य समस्या आउँदा आफैले मर्मतसम्भार गर्न सकून् र टाढाबाट मिस्त्री ल्याएर मर्मत गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको प्रखुख न्यौपानेले बताए ।
म्याग्दे गाउँपालिका-२ मा सञ्चालित तालिममा १२ जना कृषक सहभागी भएका छन् । हाते ट्रयाक्टर मर्मत तालिमले कृषकलाई सजिलो हुने ठानेर सीपमूलक तालिम दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् ।
‘गाउँपालिकाले कृषकलाई विभिन्न समयमा प्रविधि हस्तान्तरण गरिरहेको छ, यसले गर्दा कृषक व्यावसायिक बन्न सक्छन्’, उनले भने । तालिमका प्रशिक्षार्थी बिनोद श्रेष्ठले ट्रयाक्टर मर्मत तालिमले आफूहरुलाई सहज हुने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij