वेबटिभी खबर
काठमाडौं । जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले चार वर्षसम्म आफूले पाउने पारिश्रमिक लिएनन् ।
राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफुले पाउन सबै पारिश्रमिक समाजसेवामा खर्चिएका छन् ।
वडाध्यक्ष कुँवरले आफ्नो पारिश्रमिक बस्तीमै गएर वितरण गरेपछि उनको चर्चा थप चुलियो । वडाध्यक्ष हुनुअघि नै चुनावी घोषणाका क्रममा आर्थिक मुनाफालाई बेवास्ता गर्ने घोषणा गरेका कुँवरले चार वर्षसम्म पारिश्रमिकवापत पाएको १२ लाख रुपैयाँ वडामै वितरण गरेका छन् ।
उनले वडाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई आफूले पाउने पारिश्रमिक हस्तान्तरण गर्दै आएका छन् । ‘जनप्रतिनिधि भएर तलब सुविधा पाउँला भन्ने आशले निर्वाचनामा होमिएको हैन ।,वडाअध्यक्ष कुँवरले भने,‘निःस्वार्थ भावनाले जनताको सेवा गर्न आएको हुँ ।’
त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडा सदस्य लक्ष्मी शाहले पनि सामाजिक कार्यमा आफ्नो सक्रियता देखाउँदै आएका छन् । गत वर्षदेखि चिसो मौसममा भत्तालगायत आफूले पाउने रकमबाट न्यायो लुगा वितरण गर्दै आएकी शाहले यस वर्ष पनि ६० एकल महिला र असाहयलाई कम्बल वितरण गरेकी छिन् ।
आफूले पाउने सेवा सुविधावापतको रकम जनताकै हितका खर्च गर्न अठोट लिएको र सोही अनुसार काम गरेको वडा सदस्य शाहले बताइन । उनले मानवअधिकार एकल महिला समूह शुक्लाफाँटा नगरस्तरीय कमिटीका अध्यक्ष शान्ति धामीलाई सो सामान हस्तान्तरण गरेकी छिन् ।
आफू जनप्रतिनिधि नरहे पनि समाजसेवामा सक्रिय रहने शाह बताइन। स्थानीय तहमा बढिरहेको भ्रष्टाचारका कारण समाजका लागि निःस्वार्थ भावना बोकेर जनताको सेवामा समर्पितहरूले पनि टाउको निहुराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij