वेबटिभी खबर
नेपालगञ्ज । भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ ।
राप्ती सोनारी गाउँपालिका-४ अन्तर्गत पर्ने भारतीय सीमाक्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए ।
उनकाअनुसार राप्ती सोनारी-४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका बासिन्दालाई खोप सेवा प्रदान गरिएको हो । त्यस क्रममा ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको थियो । कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिए ।
भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको बस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी-४ का वडाध्यक्ष कान्छा थारूले जानकारी दिए । उनले नयाँगाउँका वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं ४ का नागरिक नभएको जानकारी दिए ।
बाँकेको अतिविकट मानिने नयाँगाउँ क्षेत्रमा झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासालगायतका गाउँ छन् । त्यहाँको पछिल्लो तथ्याकंअनुसार १७० घरधुरीको बसोबास रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij