Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भक्तपुरका तीन स्थानीय तहले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिएका छैनन 

भक्तपुरका तीन स्थानीय तहले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिएका छैनन 

  • 781
    SHARES
  • भक्तपुरका तीन स्थानीय तहले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिएका छैनन 

    काठमाडौं । संघीय सरकारले घोषणा गरे अनुसार देशभरका ७५३ वटै स्थानीय तहले आफ्नो मातहतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहजकर्ता(इसीडी शिक्षक) र विद्यालय कर्मचारी(परिचर,लेखापाल)लाई मासिक न्यूनतम (१५ हजार) पारिश्रमिक उपलब्ध गराउनुपर्छ । 

    संघीय सरकारले घोषणा गरको करिब ६ महीना वितिसक्दा पनि अधिकांश स्थानीय तहले न्यूनतम तलब सुविधा उपलब्ध गराएका छैनन् ।  इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराउनेमा भक्तपुर जिल्लाका तीन स्थानीय तह पनि रहेका छन् । 

    जिल्लामा चार स्थानीय तह भएकोमा अहिलेसम्म एउटा (मध्यपुर थिमी नगरपालिका) स्थानीय तहले मात्र न्यूनतम पारिश्रमिक उपलब्ध गराएको छ। न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने उक्त जिल्लाका तीन स्थानीय तहहरुमा चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका रहेका छन् । 

    यी पालिकाहरुले विभिन्न समस्या देखाउँदै अहिलेसम्म इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको पुरा तलब उपलब्ध गराएका छैनन । 

    सूर्यविनायक नगरपालिका शिक्षा शाखा अधिकृत सरस्वती कोइरालाका अनुसार पालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक दिन बजेट छुट्याइएको छ । तर निर्णय नभएका कारण दिएको भने छैन । दिने निर्णय हुनासाथ साउन महिनादेखिको बाँकी रकम उपलब्ध गराइने उनले बताइन  । 

    पालिकाभित्रका सामुदायिक विद्यालयमा ३४ जना विद्यालय सहयोगी, ४३ जना इसीडी शिक्षक र १० जना सहायक लेखापाल कार्यरत रहेको कोइरालाले बताइन् ।

    त्यस्तै चाँगुनारायण नगरपालिकाले पनि विद्यालय सहयोगीलाई संघीय सरकारले निर्धारण गरेको तलब दिएकोे छैन । पालिकाले गत साउन महीनाबाट विद्यालय सहयोगीलाई मासिक १५ हजार रूपैयाँ दिनुपर्ने भएपनि १३ हजार ५०० रूपैयाँ मात्र उपलब्ध गराएको छ । 

    पालिकाले इसीडी शिक्षकलाई मासिक १५ हजार रूपैयाँ  र लेखापाललाई मासिक २१ हजार ५०० रूपैयाँ दिने गरेपनि सहयोगीलाई पुरा तलब दिएको छैन ।

    नगरपालिकाका शिक्षा शाखा अधिकृत दिनेश अर्यालका अनुसार विद्यालय सहयोगीलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउन छलफल भएको छ । तर बजेट अभाव लगायत विभिन्न समस्याका कारण न्यूनतम तलब दिने निर्णय हुनसकेको छैन । 
    अहिले पालिकाभित्रका सामुदायिक विद्यालयमा ६५ जना इसीडी शिक्षक, ३६ जना विद्यालय सहयोगी र १४ जना लेखापाल कार्यरत रहेको अर्यालले जानकारी दिए ।

    यसैगरी भक्तपुर नगरपालिकाले पनि इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएको छैन । नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण कर्माचार्यका अनुसार पालिकाले इसीडी शिक्षकलाई मासिक १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

    विद्याल सहयोगीलाई संघीय सरकारले पठाएको ८ हजार रुपैयाँ र लेखापालाई १३ हजार ५०० रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा ४२ जना इसीडी शिक्षक, ३६ जना विद्यालय सहयोगी र १३ जना सहायक लेखापाल कार्यरत रहेका छन् ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट मार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराउने घोषणा गरेपनि अधिकांश स्थानीय तहले अझै दिएका छैनन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij