Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

  • 543
    SHARES
  • सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

    बाग्लुङ । बाग्लुङ नगरपालिका-८  सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले रु चार लाख बचत गरे । 

    सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ ।

    उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए । ‘सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो रु ६० देखि रु ६५ सम्म पर्छ, पोखरा लगेपछि रु १२० सम्ममा बिक्री गरेको छु’, खड्काले भने, ‘यसपटक गत वर्षभन्दा रु एक लाख बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।’ खड्काले बगैँचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाए ।

    यस्तै सिगानाकै अर्का किसान रामबहादुर खड्काले यस वर्ष बोटबाटै रु दुई लाखको सुन्तला बिक्री गरेका छन् । उनले गत वर्षको तुलनामा औसा किराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिए । ‘गत वर्ष रु साढे दुई लाख हात परेको थियो, नयाँ उत्पादन दिने बिरुवासहित यस वर्ष रु तीन लाख हात पार्ने लक्ष्य हो, तर औसा किरा र वर्षात्को समयमा फूल झर्दा रु दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ’, खड्काले भने । 

    खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरूले यस वर्ष झण्डै रु साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका-८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिए ।

    यस वर्ष रु तीन करोडको सुन्तला बिक्री गर्ने किसानको लक्ष्य रहे पनि अत्यधिक वर्षा र औसा किराको समस्याले रु ५० लाखको उत्पादन घटेको छ । सिगानाका सयभन्दा बढी किसनाको बगैँचामा बढीमा २०० देखि घटीमा १० बोटसम्म उत्पादन दिने सुन्तलाका बोट छन् । उनीहरुले सुन्तला खेतीतर्फ आकर्षण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij