काठमाडौं । म्यानमारका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित बौद्धमा प्रदर्शन आयोजना गर्ने भएको छ । बुधबार साँझ बौद्धनाथअगाडि बौद्धमा समाजले प्रदर्शन आयोजना गर्ने भएको हो ।
‘२०२१ को फेब्रवरी १ मा बर्मेली सेनाले 'कू' गरेपछि लोकतन्त्र बहालिका लागि भैरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको छ भने ६ वर्षिया बालिकादेखि मलामीसम्मको हत्या गरेको छ । बर्मेली सेनाद्वारा भइरहेको हत्या र दमनको विरुद्धमा यसपटक शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुले आँखामा कालोपट्टी बाधेर र हातमा मैनबत्ती लिएर प्रदर्शन गर्नेछन्,’ समाजले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र यसअघि ललितपुरस्थित बर्मेली दुतावास अगाडि र संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ भने शान्ति समाजका जिल्ला शाखाहरुले १ दर्जन भन्दा बढी जिल्लामा बर्मामा लोकतन्त्र र शान्तिको बहालिको मागसहित प्रदर्शन गरिसकेका छन् ।’
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाहरुको सहभागिता रहने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij