वेबटिभी खबर
जनकपुर । मधेश प्रदेशमा हालसम्म ५० प्रतिशत मानिसहरूले कोरोना भाइरसविरुद्धको पूर्ण डोज खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा खाेप लगाउनेकाे संख्या करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बढ्दै गएको कोरोना संक्रमणको ग्राफ, खोप सम्बन्धी निरन्तरको प्रचार-प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको निर्देशनालयले जनाएको छ ।
गत पुस २५ गतेसम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा उक्त संख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।
झाका अनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ ।
त्यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा खोप लगाउनेको संख्या भने करिब ५९ प्रतिशत रहेको छ । त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताए ।
कोरोनाविरुद्धको खोप लगाउनेमा १८ वर्षभन्दा माथिको उमेर समूह भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या धेरै रहेको छ । निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुई प्रतिशतले बालबालिकाले खोप लगाइसकेका छन् ।
‘यो संख्या प्रदेशगत हिसाबले तेस्रो हो’, झाले भने, ‘यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउनेमा तेस्रो प्रदेश भएका छाैँ । याे गतिलाई अझै बढाउने निरन्तर प्रयास भइरहेको छ ।’
सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई काेराेनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन नसके पनि विगतको भन्दा अहिले खोप लगाउनेको दरमा वृद्धि भएको जनाइएको छ ।
यस्तै पुसको दोस्रो सातादेखि संक्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिम पनि बढेको हो । प्रदेशको आठवटै जिल्लामा बुधबार मात्रै २०० नयाँ संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनको अवधिमा प्रदेशमा ४०७ नयाँ संक्रमित थपिएका हुन् ।
अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या करिब ८९० पुगेको छ । संक्रमितमध्ये तीन जनाको पर्सा जिल्ला अस्पतालको आइसीयूमा र दुई जनाकोे सिरहा अस्पतालमा उपचार भइरहेको र बाँकी हाेम आइसुलेशनमा रहेकाे झाले बताए । पछिल्लो तीन दिनमा कोरोना संक्रमणका कारण धनुषा र सप्तरीमा एक-एक महिलाको मृत्यु भएकोे छ ।
यस्तै कोरोना महामारी सुरु भएयता यस प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ३९ हजार ५६८ संक्रमित हुँदा उपचारपश्चात ३७ हजार ६३६ घर फर्किएका छन् भने १ हजार ४२ को मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।
मधेश प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि १५ शय्या, अस्पतालमा ३४६ आइसोलेशन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयू शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ थान अक्सिजन सिलिन्डर मौज्दात रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभर १२ वटा पिसीआर परीक्षण उपकरणबाट कोभिड-१९ काे जाँच भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij