Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तुलसीपुरबाट चोरीका सामग्री सहित दुई जना पक्राउ

तुलसीपुरबाट चोरीका सामग्री सहित दुई जना पक्राउ

  • 522
    SHARES
  • तुलसीपुरबाट चोरीका सामग्री सहित दुई जना पक्राउ

    तुलसीपुर । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्री सहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर-५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका-१० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार रहेका छन् ।

    उनीहरु लामो समयदेखि तुलसीपुर-६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरुले नै गर्दै आएको नायब उपरीक्षक अर्याल बताए । अहिले दुवैलाई पक्राउ गरेको र एक जनाको खोजी जारी रहेको उनको भनाइ छ ।

    सिसी क्यामेराको निगरानी र अन्य अनुसन्धानबाट उनीहरु शङ्कास्पद देखिएपछि प्रहरी निरीक्षक झलक शर्माकाे नेतृत्वमा गएको प्रहरी टोलीले कोठामा छापा मार्दा चोरी गरेका विभिन्न सामग्री भेट्टिएको र यसपछि बरामद गरेको थियो ।

    उनीहरुको कोठाबाट माछाजस्तो आकार भएको दापसहितको खुकुरी एक थान, राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप एक थान, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देखिने बाला एक थान, चाँदीको सिक्री एक थान, फलामको हतियार नोख एक थान, फलामको तीन फिट तीन इन्च लामो सरिया एक थान,रा १ प ५४७३ नंको मोटरसाइकलको दर्ता किताब थानलगायतका बरामद गरिएको छ ।

    अहिले यी सामग्रीका मालिक आएर आफ्नो सामान पहिचान गर्ने गरेको  प्रहरी नायब उपरीक्षक अर्यालले बताए । उनीहरु यसअघि पनि पक्राउ परेर छुटेको  प्रहरीले बताएको छ । माघीकै दिन राती तुलसीपुरको सल्यान रोडका पसल चोरी गर्नेसमेत उनीहरु नै रहेको प्रहरीले बताएको छ ।

    पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीका लागि चुनौती बन्दै गएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij