वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको तेस्रो लहर नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यस क्षेत्रमा सन्नाटा छाएको छ । पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले पुनः यो क्षेत्रलाई त्रसित बनाएको हो ।
पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएसँगै व्यवसायी मात्रै नभएर आम सर्वसाधरणलाई चिन्तित तुल्याएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो ग्राफले मुलुकको आर्थिक र सामाजिक क्षेत्रलाई फेरि पनि त्रसित बनाउने आँकलन गर्न थालिएको छ । महामारीको प्रतिकूल परिस्थितिकाबीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसायलाई सञ्चालनमा राख्न व्यवसायीले माग गरेका छन् । कूल जनसङ्ख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट डेल्टाजस्तो खतरा नभएको विज्ञले बताइरहेका छन् । नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ ।
पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका छन् । साथै उनीहरुले कोरोना संक्रमण भन्दै लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन क्षेत्र धराशायी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।
संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, ‘खोपको मात्रा आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेका छन् । सङ्क्रमण बढे पनि एक्कासी बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन् ।’
स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजी क्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । अहिले महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्नु र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालकसमेत रहेका उपाध्यक्ष शाहले बताए।
‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्यौलता छ’, उनले भने। विगतमा कोरोना भाइरस सङ्क्रमण र सीमित स्रोत र साधनका बीचमा पनि सरोकारवाला निकायको समन्वयले महामारी नियन्त्रणमा सहजता भएको थियो । अहिलेका सन्दर्भमा सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प देखिँदैन । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए।
उनका अनुसार यो पटक वसन्तकालीन ‘स्प्रिङ’ पर्वतारोहणका लागि बुकिङ राम्रो छ । अघिल्लो वर्ष पनि यो सिजनका लागि बुकिङ राम्रो भए पनि बन्दाबन्दीले पर्वतारोहण राम्ररी सञ्चालन हुन नपाएको भन्दै यसपटक वसन्तयामको पर्वतारोहणलाई लक्षित गरेर सरकारले बन्दाबन्दीको बाध्यतालाई विचार गरेको खण्डमा पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प नरहेको उल्लेख गरे । स्प्रिङ (मार्च अप्रिल र मे महिना) सिजन सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि स्वदेशी र विदेशीको आकर्षण हुन्छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औँल्याएका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij