वेबटिभी खबर
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेकपा माओवादी केन्द्र र नेकपा माओवादी विप्लव समूहसँग पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।
पूर्वमाओवादीबीच एकताको चर्चा चलिरहँदा महासचिव किरणले मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एकताबारे स्पष्ट पारेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे । आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो ।
‘उहाँहरूले पार्टी एकता हुन सक्छ, पूर्वमाओवादीहरूसँग पार्टी एकता हुन सक्छ भनेर लगातार भन्नुभएको छ । तर, हाम्रो पार्टीसँग सम्भव छैन । किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनिराखेका छौँ,’ उनले भने ।
उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए ।
त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी ओली नेतृत्वको सरकारजति पनि बोल्न नसकेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो विस्तारको काम जारी छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए ।
उनले राष्ट्रिय स्वाधीनताको निम्ति सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए । महासचिव वैद्यले आगामी संसदीय निर्वाचनमा आवश्यकताअनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा बहिष्कारको नीति लिइने उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij