वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले शुक्रबार गोरखा जिल्लाको दरौंदी नदी बेसिनमा बृहत्तर कृषि विकास परियोजना सञ्चालनबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले परियोजना सञ्चालनका विषयमा विज्ञहरूको सहयोगमा योजना बनाएर अर्थमन्त्रालय, कृषि मन्त्रालयमा प्रस्तुत गरेका थिए ।
नेपाल कृषिप्रधान अर्थतन्त्र भएको हुनाले कृषिको आधुनिकीकरण गर्नको निम्ति एकीकृत योजना अगाडि बढाउनुपर्ने डा.भट्टराई बताउँछन् ।
डा.भट्टराई भन्छन्, ‘त्यसका निम्ति मैले दुई वटा कुरा अगाडि बढाएको छु । एउटा, दरौंदी उपत्यका । सबैभन्दा बढी पानी र फाँट भएको ठाउँ । दरौंदी, बेसिन एकीकृत कृषि विकास योजना भनेर मैले विज्ञहरूको सहयोगमा योजना बनाएर अर्थमन्त्रालय, कृषि मन्त्रालयलगायतमा प्रस्तुत गरेको छु ।’
शुक्रबार मन्त्रालयमा भएको उक्त छलफलमा सो परियोजना चालु आर्थिक वर्षबाटै सुरुवात गर्ने निर्णय भएको छ । साथै यस्ता परियोजना प्रदेशस्तरमै सुरु गर्न सकिने विषयमा पनि छलफल भएको डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले वेबटिभी खबरलाई जानकारी दिए ।
उनले भने, ‘चालु आर्थिक वर्षबाटै परियोजना सुरुवात गर्ने निर्णय भएको छ । यस्ता परियोजना प्रदेशस्तरमा सुरु गर्न सकिने विषयमा छलफल भएको छ ।’
छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, सचिव डा.गोविन्द प्रसाद शर्मा, सचिव (पशुपन्छी विकास) निरु दाहाल पाण्डे,परियोजना प्रस्तोता पूर्वकृषि सचिव डा.सुरोज पोखरेललगायत उपस्थित थिए ।
गाेरखाकाे विकासबारे डा.भट्टराईकाे याेजना विस्तृतमा
गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij