Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चिसोका कारण विद्यालयमा विद्यार्थी घटे

चिसोका कारण विद्यालयमा विद्यार्थी घटे

  • 657
    SHARES
  • चिसोका कारण विद्यालयमा विद्यार्थी घटे

    उदयपुर । केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै  ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको संख्या घट्न थालेको छ ।

    सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकहरूले बताए ।

    एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरूको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुमारी मगरले बताइन् ।

    ह्वात्तै चिसो बढेका कारण नानीहरूमा निमोनिया वा टाइफाइड हुने र चिसोका कारण अन्य असर हुन सक्ने भन्दै अहिले अभिभावकले साना नानीहरूलाई बिद्यालय नपठाएको सोही स्थान निवासी दानबहादुर पुलामी मगरले बताए ।

    यता जिल्लाको तराई क्षेत्रको त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याई, चौदण्डी नगरपालकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेस्वरी भागलपुर र आम्बासी क्षेत्रका विद्यालयमा पनि चिसो बढ्न थालेपछि ५० प्रतिशत मात्र विद्यार्थी दैनिक उपस्थित हुने गरेको र अन्य भने चिसोको कारण घरमानै बस्ने गरेको सप्तकोशी माविका शिक्षिका सुमित्रा पोखरेलले जानकारी दिइन् ।

    ह्वात्तै चिसो बढ्न थालेका कारण र अझै कोभिडको डर त्रासका कारण पनि कतिपय अभिभावकले घरमै राख्न थालेको हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ थियो ।

    जिल्लाको सदरमुकाम गाईघाट,बेलका नगरपालिकाको आसपास, चौदण्डी गढी नगरपालिकाको बेल्टार र कटारी बजारका विद्यालयमा भने अहिलेसम्म पनि विद्यार्थी नियमति विद्यालय आइरहेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । जिल्ला सदरमुकामबाहेक पहाडी र अन्य क्षेत्रका विद्यालयका विद्यार्थी पनि चिसोको कारण विद्यालयमा उपस्थिति घटन थालेको बताइएको छ । फाइल तस्बिर ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij