Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

घरभित्रै सुरक्षित छैनन् महिला

घरभित्रै सुरक्षित छैनन् महिला

  • 723
    SHARES
  • घरभित्रै सुरक्षित छैनन् महिला

    जुम्ला । चन्दननाथ नागरपालिका-१ ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला हुन् । उनी २२ वर्षकी भइन् । तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन् । उनको तीन वर्षीया छोरी छन् । सुनिताबाट एक छारी जन्मिएपछि उनका श्रीमान  लोकेन्द्रले चन्दननाथ– १० कि सुचना कामीसँग दोस्रो बिहे गरे । उनले दोस्रो बिहे गरेकी सुचनाबाट पनि एक छोरी जन्मिएकी छन् ।

    लोकेन्द्रकी जेठी श्रीमती फेरि गर्भवती भइन् । उनलाई लोकेन्द्रले एउटा कोठामा छुट्याएर राखेका छन् । उनको पेटमा ८ महिनाको गर्भ पनि छ । उनमाथि श्रीमानबाट मात्र होइन सासुबाट पनि सहयोग छैन ।

    चन्दननाथ नगरपालिका ६ की कल्पना शाही (रावल ) पनि घरेलु हिंसा पीडित महिला हुन । उनी अपांगता भएकी  व्यक्ति हुन । उनका दुवै खुट्टाको टेक्ने भाग छैन ।

    तर, उनीसँग अपांगताको परिचय खुल्ने कुनै प्रमाणपत्र र नागरिकता पनि छैन ।  आफू तीन महिनाकी हुँदा आमा बितेको बताउने उनलाई आफ्नो उमेरसमेत थाहा छैन । आमा बितेपछि बुबाले सौतेनी आमा भित्र्याए ।

    ‘जन्म दिने आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याउनुभयो । उपचार  गर्ने कोही भएन । आमा बितेपछि घरमा स्यारसुसार गर्ने कोही भएन ।  त्यही बेलामा चुलोमा खुट्टा पोल्यो । तर, उपचार गर्न नपाउँदा खुट्टाको टेक्ने भाग नै छैन,’ उनले भनिन्, ‘सौतेनी आमाको किचकिचले सौतामाथि नै बिहे गरेँ ।’

    कर्णबहादुर रावलले कुइरी रावलसँग बिहे गरेको २० वर्षसम्म सन्तान नजन्मेपछि जेठी श्रीमतीले नै कल्पनालाई फकाएर विवाह गराएकी हुन्।

    उनले ४६ वर्षीय कर्णबहादुरसँग विवाह गरेको दुई वर्ष भएको छ । दुई छोरा जन्माएकी कल्पनालाई अहिले श्रीमान र सौताबाट बेवास्ता गर्न थालेका छन् ।  उनी सुत्केरी भएको एक महिना पूरा भएको छ । बच्चाको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले उनी बच्चासहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको शैयामा छन । बच्चा जन्माउनकै लागि आफूसँग विवाह गरेको र बच्चा जन्मिएपछि श्रीमानले हेला गरेको उनको गुनासो छ । अहिलेसम्म नागरिकतासमेत नबनाइदिएको उनी बताउँछिन् ।

    महिला हिंसामा परेका यी प्रतिनिधि पात्र मात्र हुन् । जुम्लामा हुने महिला हिंसाको घटनामा बढी श्रीमानकै संलग्नता पाइएको छ । कूल हिंसा प्रभावितमध्ये ५१ प्रतिशत महिला आफ्नै श्रीमान पीडित हुने गरेका तथ्यांक छ । सो तथ्यांकअनुसार १९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट, १८ प्रतिशत छिमेकीबाट, सात प्रतिशत आत्मीय व्यक्तिबाट महिला हिंसामा पर्ने गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकमा २०७६ देखि हालसम्म घरेलु हिंसाका मात्र ९८ वटा उजुरी परेका छन् । प्रहरी निरीक्षक तथा सुचना अधिकारी युवन चौधरीले हिंसा गर्नेहरू सबैभन्दा बढी श्रीमान् र घरपरिवारका सदस्य रहेका बताए ।

    घरेलु हिंसामा परेका महिलाहरूले आत्महत्या गर्न थालेका देखिन्छ । २०७५/७६  मा ११ वटा, २०७६/७७ मा नौवटा, २०७७/७८ मा १४ वटा र चालु आर्थिक वर्षमा तीनवटा र तीन वर्षयता ३७ वटा घरेलु हिंसामा परेका महिलाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij