वेबटिभी खबर
धनगढी । धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लि रहने भएको छ ।
प्रतियोगिताको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर रहने गरी आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका तर्फबाट अध्यक्ष रामचन्द्र शाही र होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लिका तर्फबाट सेल्स एण्ड एचआर म्यानेजर शङ्कर सिंले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सुदूरपश्चिम प्रदेशमै होटेल क्षेत्र मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको डिभोटी होटेलले उमेर समूहको क्रिकेट उत्थानका लागि हातेमालो गरेकोमा अध्यक्ष शाहीले हस्ताक्षरपछि धन्यवाद ज्ञापन गरे ।
प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालयको सहभागिता रहने शाहीले बताए । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल, सैनिक आवासीय महाविद्यालय तेघरी र विद्याभुषण पब्लिक स्कुल गेटा, कैलाली छन् । त्यसैगरि सत्यवती एकेडेमी, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौंले पनि सहभागिता जनाउने छन् ।
लिग कम नक आउट फरम्याटमा खेलाइने छ । प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने छ । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij