वेबटिभी खबर
जनकपुरधाम । तेस्रो रामायण सर्किट, मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधामबाट सुरु भएको छ ।
रामायणमा भारत, नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा तीनै देशका प्रतिनिधिहरूले रामायण सर्किट, मिथिला र अवधको सम्बन्धको विषयमा आफ्ना धारणा राखेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश २ का प्रदेश प्रमुख हरिसंकर मिश्रले २०७५ वैशाख २८ गत्ते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम-अयोध्या बस सेवा पुनः सुचारु गर्न दुवै देशबीच समन्वय भइरहेको बताए ।
त्यसैगरि, कार्यक्रममा श्रीलंकाकी राजदूत हिमाली सुभाषणी अरुण तिलकाले रामायण सर्किट निर्माणले भारत नेपाल र श्रीलंका तीनवटै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
बुद्ध धर्मावलम्बीहरूको कारणले नेपाल र श्रीलंकाको सम्बन्ध रहँदै आएको बताउँदै उनले रामायण सर्किटले यी देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने बताइन् ।
भारत यूपिका कमिस्नर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाईसेवा र रेलमार्गको काम हुने बताए ।
अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा चाँडै सुरु हुने बताउँदै उनले डबल लाइनको रेल्वे ट्याकको निर्माण कार्यसमेत भइरहेको बताए ।
कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहले जनकपुरधाम बिना रामायण अधुरो रहेको भन्दै रामायण सर्किटलाई जनकपुरधामसँग जोड्नु अति आवश्यक रहेको बताए ।
इतिहासमा जनकपुरधाम र अवधको सम्बन्धबारे लामो वर्णन गरिएको बताउँदै मेयर साहले भने, ‘त्रेता युगको सम्बन्धलाई वर्तमान समयमा पनि स्थापित गर्नुपर्ने समय आएको छ, यसको लागि दुवै देशका सरकारले पहल गर्नुपर्छ ।’
जनकपुरधाम उप-महानगरपालिकाको आयोजना तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij