काठमाडौं । २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा जर्मनीले सानदार जित दर्ता गरेको छ । विश्वकपमा स्थान बनाइसकेको जर्मनीले १० खेलाडीमा समेटिएको लिचेस्टाइनमाथि ९–० को फराकिलो जित निकालेको हो ।
जर्मनीको सानदार जितमा लिरोए साने र थोमस मुलरले समान दुई गोल गर्दा इल्केए गुन्डोगान, मार्को रिउस र रिड्ले बाकुले समान एक गोल गरे । दुई गोल उपहार पाएको थियो । पहिलो हाफमा चार तथा दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो ।
भोक्सवागन एरिना वल्फ्सवर्गमा बिहीबार राति भएको खेलको नवौं मिनेटमा नै लिचेस्टाइन १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा जर्मनीले उठाउन सफल भएको थियो । जेन्स होफेर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीको गोलको खाता खोले ।
२०औं मिनेटमा ड्यानियल कोउफमानले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा २–० को अग्रता लियो । २२औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको अग्रता तेब्बर पारे । त्यसको एक मिनेटपछि मार्को रिउसले गोल गरेपछि जर्मनीले पहिलो हाफमा नै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।
४९औं मिनेटमा लिरोए सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ७६औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई ६–० ले अघि बढाए । ८०औं मिनेटमा रिड्ले बाकुले गोल गर्दै जर्मनीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८६औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गरे ।
८९औं मिनेटमा म्याक्सिमिलियन गोप्पेलले आत्मघाती गोल गरेपछि जर्मनीले ९–० को फराकिलो जित निकाल्न सफल भयो । यो जितपछि समूह ‘जे’ मा शीर्षस्थानमा रहेको जर्मनीको ९ खेलबाट २४ अंक पुगेको छ पराजित लिचेस्टाइन १ अंक जोडेर पुछारमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij