काठमाडौं । बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना एलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गर्दा एलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए ।
८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले एलाभेसलाई हराउन सकेन । ४९औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । ५२औं मिनेटमा लुइस रियोजाले जोसेलुको पासमा बराबरी गोल फर्काए ।
त्यसपछि थप गोल निस्कन नसक्दा अन्तरिम प्रशिक्षक सेर्जी बरजुआनको पहिलो खेलमा बार्सिलोनाले जित निकाल्न सकेन । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको बर्खास्तीपछि बार्सिलोनाले सेर्जीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको थियो ।
यो बराबरीपछि बार्सिलोना ११ खेलबाट १६ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij