Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कर्णालीमा बाढीको वितण्डा : ७ जनाको मृत्यु, एकजना बेपत्ता

कर्णालीमा बाढीको वितण्डा : ७ जनाको मृत्यु, एकजना बेपत्ता

  • 832
    SHARES
  • कर्णालीमा बाढीको वितण्डा : ७ जनाको मृत्यु, एकजना बेपत्ता

    सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट  भएको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा ६ जना कालिकोटमा एक जनाको मृत्यु भएको छ । 

    हुम्ला खार्पुनाथ गाउँपालिका-५ खर्पेलगाउँ ७० वर्षीयो धनवीरे शाहीको घरभन्दा  माथिबाट पहिरो आई घर पुरिँदा घरभित्र रहेका ५५ वर्षीय कलबहादुर शाही ९ज्वाई०, उनकी श्रीमती ४० वर्षीया आशा शाही, छोरा १३ वर्षीया अलिन्द शाही, ५ वर्षीया छोरा हुमेस शाही र ३ वर्षीया छोरा जसबहादुर शाहीको मृत्यु भएको हो । त्यस्तै, कालिकोटको महावै गाउँपालिका-७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाका कारणमाथिबाट पहिरो आई घर भत्किँदा उनको १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । ११ वर्षीया यूनिषा अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ । 

    जुम्ला हिमा गाउँपालिका-६ बाघबजार बस्ने ३३ वर्षीया रन्ना शाही हिमा नदिले बगाएर ल्याएको दाउरा निकाल्न जाने क्रममा बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कालिकोट रास्कोट नगरपालिका-८ पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीया बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घर नजिकै पहिरोमा परी घाइते भएका छन् । न्यौपानेको दुवै खुट्टामा चोट र उनको बाँचु न्यौपानेको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

    १३८ पशुचौपायाको मुत्यु
    कालिकोट तिलागुपा नगरपालिका-९ तिला नदीको किनार लुब्रे भन्ने स्थानमा भेडी गोठमा रहेका ९ घर परिवारको १३० वटा भेडा बाख्रा तिला कर्णाली नदीले बगाई लगेको छ । त्यस्तै, कालिकोट पचाल झरना गाउँपालिका-४ जारकोट बस्ने बिर्ख सिजुवालको गाईगोठ कल्ली खोलाबाट आएको बाढीले बगाउँदा चारवटा गाई र तीनवटा बाच्छा बगाई लगेको प्रहरीले जनाएको छ ।

    मुगु खत्याड गाउँपालिका-४ पैखु बस्ने लालसिंह थापाको बाख्राको खोर अविरल वर्षाको कारणमाथिबाट पहिरो आई पूर्ण रूपमा पुरिन जाँदा खोरमा रहेको एकवटाको मृत्यु भएको र पाँच बाख्रा पुरिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij