काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको राजनीतिमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता गगन थापा हाबी देखिएका छन्। हालै भएको पालिका तहको निर्वाचनमा सिंह र थापा हाबी देखिएका हुन्। काठमाडौंका ११ स्थानीय तहमध्ये ९ वटामा नयाँ नेतृत्व चयन भएको छ।
१४ औं महाधिवेशनअन्तर्गत कांग्रेसले गत शनिबारदेखि काठमाडौंमा पालिका अधिवेशन सुरू गरेको थियो। अहिलेसम्म ९ पालिका अधिवेशनको मतपरिणाम सार्वजनिक भइसकेको छ।
यीमध्येमा पूर्वमहामन्त्री प्रकाशमान सिंह–गगन थापा पक्ष हाबी देखिएको हो। काठमाडौंमा सिंह र थापा विरुद्ध सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको टिम चुनाव लडेको थियो।
मतपरिणाम सार्वजनिक भएका ९ पालिका मध्ये ६ पालिकामा सिंह–थापानिकट विजयी हुँदा दुई पालिकामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका विजयी भए भने एउटा पालिकामा मात्रै सभापति शेरबहादुर देउवानिकट विजयी भएका छन्। काठमाडौंमा अब कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा मात्रै अधिवेशन हुन बाँकी छ।
काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य निर्वाचित भए। उनी वडा नम्बर २५ का वडाध्यक्ष पनि हुन्। कलाकारसमेत रहेका शाक्य सिंह–थापा समूहबाट उम्मेदवारी दिएका थिए।
उनले सभापतिका अर्का उम्मेदवार प्रगतिमान रञ्जितलाई हराएका हुन्। रञ्जित नेता भीमसेनदास प्रधाननिकट हुन्। उनलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पनि समर्थन गरेका थिए।
शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९ मत ल्याएका छन्। महानगरमा सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ। काठमाडौं महानगरमा १५ वर्षपछि कांग्रेसले अधिवेशन गरेको हो। यसअगाडि १३ औं र १२ औं महाधिवेशनमा काठमाडौं महानगरमा अधिवेशन नै भएको थिएन।
कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा निर्वाचित भए। उनी कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह–गगन थापानिकट मानिन्छन्। उनले १०९ मत ल्याएर सभापति विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत मात्रै ल्याएका थिए।
कांग्रेसको कागेश्वरी मनोहरा नगर अधिवेशनबाट सभापतिमा उद्धव दाहाल विजयी भए। दाहाल सभापति शेरबहादुर देउवानिकट हुन्। उनले सभापतिमा उम्मेदवार मिठ्ठाराम दाहाललाई हराए। उद्धवले १५१ मत ल्याएर विजयी भए भने मिठ्ठारामले जम्मा १३८ मत ल्याए।
कांग्रेस टोखा नगर सभापतिमा ओमकृष्ण विमली निर्वाचित भएका छन्। उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, भीमसेनदास प्रधाननिकट मानिन्छन्। उनले ११७ मत पाए भने सभापतिका अर्का उम्मेदवार दीपक जोशीले १०६ मत मात्रै ल्याए।
कांग्रेसको शंखरापुर नगर सभापतिमा दिलिपकुमार श्रेष्ठ निर्वाचित भए। उनी सिंह–थापानिकट मानिन्छन्। श्रेष्ठले ८६ मत ल्याएर सभापतिमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत मात्रै ल्याएका थिए।
कांग्रेस तारकेश्वर नगरपालिका सभापतिमा कृष्णहरि महर्जन बिजयी भए। उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। सभापतिका उम्मेदवारहरू श्रीराम थापा र मुकुन्द तिमिल्सिनालाई महर्जनले हराएका हुन्। महर्जनले १३५ मत ल्याएर सभापति जिते भने उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ र मुकुन्द तिमिल्सिनाले २ मत मात्रै ल्याए।
कांग्रेसको नागार्जुन नगर सभापतिमा दुर्गाप्रसाद गौतम निर्वाचित भए। उनी सिंह–गगन थापानिकट मानिन्छन्। गौतमले १२८ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार अच्युत पाण्डेले ७८ मत मात्रै ल्याएका थिए।
कांग्रेस बूढानिलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। उनी सिंह–थापानिकट छन्। बुढाथोकीले १५५ मत ल्याए भने उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत ल्याएका छन्। कांग्रेस चन्द्रागिरि नगरपालिका सभापतिमा घनश्याम गिरी चयन भएका छन्। सर्वसहमतिअनुसार गिरि आइतबार बेलुकी सभापति पदमा चयन भएका हुन्। गिरी सिंह–गगन थापानिकट मानिन्छन्।
कांग्रेस काठमाडौंको राजनीति लामो समयदेखि गणेशमान सिंहका छोरा प्रकाशमान सिंहको पकडमै छ। यहाँ यसअगाडिका अधिवेशनमा सिंह एकातर्फ अरू नेता अर्कोतर्फ हुन्थे। यसपालि भने सिंहलाई साथ दिन गगन थापा आइपुगेका हुन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij