चूडामणि वाग्ले
एउटा सानो कथाबाट प्रसंग सुरु गरौँ । एउटा परिवारका चार दाजुभाइबीच अंशवण्डा भएछ । सवैले अंशवण्डा भयो, काम सकियो भनेर खुसी साट्न थालेको देखेपछि एक भाइले अलि अनौठो मानेछन् । उनले सोधेछन्, ‘खै त लाप्पा खेलेको ? कतिखेर खेल्ने लाप्पा ?’ मधेसमा कुस्तीलाई लाप्पा भनिन्छ । उनले लाप्पा नखेली अंशवण्डा पुरा भएको मानिँदैन भनेर जिकिर गरेछन् । अंशवण्डा गर्दा छिमेकमा जहिल्यै दाजुभाइबीच कुस्ती परेको देखेका उनले स्वभाविक प्रश्न राखेका थिए ।
नेपालका प्रायः प्रधानमन्त्रीहरुको वारेमा नेपाली जनताको वुझाई पनि यस्तै छ । प्रधानमन्त्री भनेकै आफ्नै स्वार्थ पुरा गर्न आउने हुन भन्ने आम विश्वास वनेको छ । पछिल्लो समय केपी ओलीको कदमले यो भनाईलाई अझ पुष्टि गरेको छ । प्रधानमन्त्रीले आफ्नो र आफ्ना आसेपासेका मात्र स्वार्थ पुरा गर्छन्, जनमैत्री हुँदैनन, आश्वासन मात्र दिन्छन, भ्रष्टाचार नियन्त्रण गर्न रुचाउँदैनन भन्ने जनतामा परेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा कमरेड माधवकुमार नेपाल प्रधानमन्त्री हुनु भयो भने नेपाली नागरिकका लागि के फरक हुन्छ ?
पहिलो जनआन्दोलनबाट बहुदलिय व्यवस्था आएपछि छोटो समय प्रधानमन्त्री बनेका मनमोहन अधिकारी र संविधान जारी गर्ने मुख्य काम भएको वर्ष प्रधानमन्त्री रहेका सुशील कोइराला भने अपवादको रुपमा रहेका छन् ।
झण्डै दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले जनतको पक्षमा केही न केही गर्छन भन्ने आशा जनतामा थियो । केही गर्लान भनेर आश गरिएका ओलीले असमय प्रतिनिधिसभा विघटन गरेपछि आम जनता निराश बने । अब उनीबाट कुनै आशा गर्ने ठाउँ बाँकी रहेन ।
नेकपा कार्यकर्ताको हैसियतले म प्रतिनिधिसभा विघटन हुनु स्थिरता चाहेका नेपाली नागरिकमाथि गरिएको गम्भीर अपराध हो भन्ने मान्छु। म प्रधानमन्त्रीको यो कार्यविरुद्ध अहिले आन्दोलनमा छु । एउटा तथ्यमा म स्पष्ट छु, प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ, अन्यथा जनताबाटै संविधान बनाउने सात दशक लामो आन्दोलन खेर गए सरह हुन्छ ।
केपी ओलीमाथि प्रश्न उठाएसँगै अहिले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत राजनीतिक दलका नेताहरुले पनि केही प्रश्नको उत्तर दिनु पर्छ । आन्दोलनकै क्रममा यो उत्तर आउनु अझ राम्रो हुन्छ ।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा कमरेड माधवकुमार नेपाल प्रधानमन्त्री हुनु भयो भने नेपाली नागरिकका लागि के फरक हुन्छ ? दुवै जनाले प्रधानमन्त्री चलाइसक्नु भएको छ, प्रचण्ड दुई पटक र नेपाल एक पटक । उहाँहरु फेरी किन प्रधानमन्त्री हुन चाहनु हुन्छ ? नेकपाबाट अरु कोही प्रधानमन्त्री भएमा के हुने ? के नहुने ? यसको उत्तर आउनुपर्छ ।
हाम्रो वुझाई छ, हामी सत्ताको लागि हैन, संविधानको लागि लडेका छौँ, अधिकारको लागि डटेका छाैँ, हामी कानुनलाई चोरवाटोमा वन्धक वनाउन हैन, मुलवाटोमा ल्याउन संघर्ष गर्दैछौ, हामी सत्य, निष्ठा र स्वाभिमानको लागि लडेका छाैँ । अब तपाइँहरुले पनि भन्नु पर्यो कि यो लडाइँ सत्ताको लागि हैन, देशको लागि हो ।
प्रधानमन्त्री फेरिने प्रकृया धेरै पटक भयो, संसद पुनस्र्थापनापछि फेरि कमरेड प्रचण्ड वा माधव नेपाल वा हाम्रो पार्टीका कोही नेता प्रधानमन्त्री वन्नुहोला । प्रधानमन्त्रीमा दोहोरिनेले के काम गर्न बाँकी थियो स्पष्ट पार्नु पर्छ । यसअघि प्रधानमन्त्री बन्दा के के काम गर्नु भयो ? अब के गर्न बाँकी छ ? उहाँहरुमध्ये कोही प्रधानमन्त्री भएपछि देशमा के परिवर्तन हुन्छ ? उहाँ नै सत्ताको नेतृत्वमा फेरी जानै पर्ने किन हो ? कि पार्टीमा नयाँ नेतृत्व नै छैन ? यो सबै प्रश्नको उत्तर आउनु पर्छ ।
सरकारले पार्टीको घोषणा पत्र अनुसार गर्ने हो, चुनावी प्रतिवद्धता पुरा गर्ने हो । देशमा शान्ति, सुशासन कायम राख्दै विकासको भोक शान्त पार्नु पर्ने हो । तर पार्टीका अध्यक्ष समेत रहनु भएका कमरेड केपी शर्मा ओलीले यो काम गर्ने त कुरै छाडौं उल्टै संसद नै समाप्त पारेर सडकमा कुर्लिँदै हुनुहुन्छ ।
अब पार्टीले भन्नु पर्छ, हाम्रो उत्पादन केपी ओली गलत परे, भनेको कुरा गरेनन् । प्रतिवद्धता पुरा गरेनन् । अब फेरि पार्टी सत्तामा आएपछि यस्तो गर्ने छैनौं । अब कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभयो भने कस्तो प्रकारको युग परिवर्तनको काम गर्नु होला ? उहाँले म प्रधानमन्त्री भएँ भने स्वतन्त्र निकायलाई मेरो सम्पुर्ण सम्पति छानविन गर्न अधिकार प्रदान गर्छु र अरु सवैको सम्पति शुद्धीकरण गराउँछु भन्न सक्ने कि नसक्ने ? आफूले आफैँलाई शुद्धिकरणको आरानमा हाल्न तयार हुने कि नहुने ? आफूमाथि लागेका आरोपहरु स्वतन्त्र रुपमा छानविन गराउने कि नगराउने ?
राजनीतिमा दोस्रो पुस्तालाई सरकार र पार्टी नेतृत्व हस्तान्तरण गर्न अघिल्लो पुस्तालाई के कठिनाई छ ? सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, पम्फा भुषाल, रामकुमारी झाँक्री, दिप शिखाजस्ता कयौं होनहार नेता हुँदाहुँदै बुढा नेताले नै हाड घोटिरहनु पर्ने आवश्यकता के हो ? युवाहरुले कार्यकारी भूमिका पाउन नसकेको केन्द्रमा मात्र नभइ प्रदेश, जिल्ला, गाउँ र टोलसम्मको समस्या हो । यसको सुधार पनि मुहानबाटै गर्नुपर्छ । मुहान संग्लिएपछि तलसम्म पानी सफा आउछ भन्ने कल्पना गरौं ।
त्यसैले अहिले भइरहेको आन्दोलनले प्रतिगमन सच्याउने, संविधानलाई पुनः लिकमा ल्याउने, विकासको लहर ल्याउने, मार्क्सवाद जोगाउने, समाजवादी आन्दोलन अगाडी वढाउने, नेपाली जनतामा आशाको संचार गर्ने हो कि तपाईहरु आफैँ सत्तामा आउनु पर्ने हो ? अव यी र यस्ता धेरै कुरा श्वेत पत्र जारी गरेर चाँडै भन्नु पर्छ कमरेड अध्यक्षज्यू हरु । अब फेरी कुनै देशको गुप्तचरले नेपालको प्रधानमन्त्रीको खोपीमा मध्यरातसम्म वसेर योजना वनाउने अवस्था आउँदैन भनेर भन्न सक्नुपर्छ ।
हाम्रो वुझाई छ, हामी सत्ताको लागि हैन, संविधानको लागि लडेका छौँ, अधिकारको लागि डटेका छाैँ, हामी कानुनलाई चोरवाटोमा वन्धक वनाउन हैन, मुलवाटोमा ल्याउन संघर्ष गर्दैछौ, हामी सत्य, निष्ठा र स्वाभिमानको लागि लडेका छाैँ । अब तपाइँहरुले पनि भन्नु पर्यो कि यो लडाइँ सत्ताको लागि हैन, देशको लागि हो ।
यो आन्दोलन अर्काेका टाउकोबाट श्रीपेच फुकाले हामीले लगाउनका लागि हैन भन्ने किटान हुनु पर्यो । देशलाई सकारात्मक दिसामा परिवर्तन गर्न सक्ने युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न खोजेको हो भनेर स्पष्ट पार्न ढिलाई गर्नु भएन । नेतृत्वले हिजो भएका गल्तीमा आत्मालोचना गर्दै त्यो नदोहोर्याउने बचनबद्धता गर्नुपर्छ । यसरी जनता र कार्यकर्तालाई आस्वस्त पार्न नसक्ने हो भने आन्दोलनका मोर्चामा हाम्रै खुट्टा लुला हुनेछन, आम जनता त कसरी हाम्रो आन्दोलनमा दर्हाे गरी उभिएलान र ?
लेखक नेकपा प्रचण्ड–नेपाल समूहमा आबद्ध छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij