एजेन्सी– सुपरस्टार फरवार्ड नेयमारले एक गोल र अर्को गोलको लागि असिस्ट दिएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेको छ ।
घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकालेको हो। यो जितसँगै ब्राजिलले विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेको छ।
ब्राजिलको जितमा पहिलो हाफको दुई गोल नै पर्याप्त बन्यो । खेलको १४औं मिनेटमा ब्राजिली क्लब फ्लामेङ्गोका मिडफिल्डर एभर्टन रिवेइरोको गोलबाट ब्राजिलले खेलमा अग्रता लिएको थियो । उनले नेयमारको लो क्रसलाई सदुपयोग गरेका थिए ।
४०औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । रिवेइरोको प्रहारलाई पेरुका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी बक्समै रहेका नेयमारले सहजै फिनिस गरे । ८१औं मिनेटमा नेयमारको ओभरहेड किक क्रसबार बाहिरियो ।
लगातार आठौं जितसँगै ब्राजिल २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अपराजित अर्जेन्टिनाको १८ अंक छ । पराजित पेरु ८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij