वेबटिभी खबर
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले शुक्रबार सभामुख अग्नि सापकोटासँग मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
संसद् सचिवालय सिंहदरबारमा भएको छलफलमा नेपाल राज्यपक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअनुरूप कानून निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।
साथै बारुदी सुरुङको प्रयोग, भण्डारण तथा ओसारपसारमाथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धिलगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू शीघ्र अनुमोदन हुनुपर्नेमा जोड दिइएको छ ।
समाज प्रतिनिधिभण्डल टोलीले शुक्रबार नै राष्ट्रियसभा अध्यक्ष गणेश तिम्लिसिनासँग पनि छलफल गरेको छ । टोलीले राष्ट्रियसभा सचिवालय सिंहदरबारमा भएको छलफलमा हिमालय बचाउ नदी जोगाउ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।
यस्तै चुरेले चाल्नीजस्तो भएर तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमीकरणको खतरा बढेकोमासमेत ध्यानाकर्षण गराएको छ ।
९ भदौमा मन्त्री पम्फा भुसालसँग नेपाली नागरिकको उर्जाको अधिकार सुनिश्चित हुने गरि ठोस राष्ट्रिय कार्ययोजना निर्माण गर्न आग्रह गर्दै छलफल गरिएको थियो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाईं र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव बन्दना सिंह, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, उमा गौतम संलग्न थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij