वेबटिभी खबर
काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल नेपाल फिर्ता ल्याउन मानवअधिकार तथा शान्ति समाजले सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री बालकृष्ण खाँणसँग भेटेर समाजका प्रतिनिधिहरूले सरकारको ध्यानाकर्षण गराउँदै मानव अधिकार र शान्तिकाबारेमा आवश्यक छलफलसमेत गरे ।
‘सो छलफलमा अफगानिस्तानमा तालिवानद्वारा सत्ता कब्जापश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुसल नेपाल फिर्तीका लागि आवश्यकताअनुसार अन्य मुलुकहरूसँगसमेत समन्वय र सहकार्य गरी प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको छ,’ प्रतिनिधि सरिता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी कोभिड-१९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ ।’
यस्तै आणविक हतियार निषेध सन्धिलगायत सन्धिलाई शीघ्र अनुमोदन गर्दै द्वन्द्व र हिंसालाई बढवा दिने प्रकारका अन्तर्राष्ट्रिय सन्धिहरू तत्काल खारेज गर्न पनि समाजले सरकारकासमक्ष आग्रह गरेको छ । समाजका प्रतिनिधिका रूपमा सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौं शाखा सभापति ईश्वर पुडासैनीले गृहमन्त्रीसँग भेट गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij