वेबटिभी खबर
काठमाडौं । झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार-व्यावसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी-व्यवसायी मारमा परेको बताए ।
‘महामारीका बेला व्यवसायी मारमा परेका छन् । समस्या बुझिदिनु पर्छ,’ उनले भने । अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार-व्यावसाय ठप्प भएका व्यवसायीलाई पहिचान गरी ब्याज ताकेता नगरी लचक हुन आग्रह गरे ।
छलफलमा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुवास श्रेष्ठले हाल कारोबार भएका तथा सञ्चालनमा रहेका उद्योगी-व्यावसायीलाई मात्र ब्याजका लागि ताकेता गरिएको बताए । ‘व्यापार बन्द भएका व्यवसायीलाई ताकेता गरिएको छैन,’ उनले भने, ‘जुन व्यावसाय चलेको छ, उनीहरुलाई मात्र ब्याज र किस्ताको ताकेता गरेका हौं ।’
छलफलमा एनआइसी एशिया बैंकका दशरथ पराजुली, सानिमा बैंकका अम्बिका खतिवडा, गुडविल फाइनान्सका सुमन पौडेल, मुक्तिनाथ विकास बैंकका हरि ओझालगायतका बैंक प्रतिनिधिले व्यापार र कारोबार नभएका व्यवसायीलाई ब्याज र किस्ताका लागि दबाब नदिइएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij