वेबटिभी खबर
काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान ७ बजेसम्म ललितपुर, खोटाङ, काभ्रे, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन् । ललितपुरको बागमती गाउँपालिका-३ स्थित पाँडुर र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, ललितपुर महानगरपालिका-२ बल्खुको सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ लकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका-१ पिन्थली र वडा नम्बर-८ गिम्दीबेशीमा पहिरोका कारण बीपी राजमार्गसमेत पूर्ण रूपमा बन्द रहेको छ ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण अवरुद्ध छ । मुस्ताङको जोमसोम-कोरोला सडकखण्डका दुई स्थानमा पहिरो र वर्षाका कारण यातायात प्रभावित भएपनि एकतर्फी सञ्चालनमा रहेको छ । पाल्पाको रामपुर नगरपालिका-१ स्थित कालीगण्डकी करिडोर र सुर्खेतको बराहताल गाउँपालिका-७ ओलिसेमा पहिरोका कारण प्रभावित कर्णाली राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । प्रभावित सडकखण्डमा यातायात सञ्चालन सहज बनाउन आवश्यक समन्वय भइरहेको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij