वेबटिभी खबर
काठमाडौं । धनुषा प्रहरीले हवाई फायर गरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार बेलुका धनुषाको विदेह नगरपालिका-८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो । प्रहरीले मण्डलको साथबाट ब्राउन सुगर जस्तो देखिने करिब १४.४० ग्राम लागुऔषध बरामद गरेको जनाएको छ । लागुऔषध किनबेच भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ७र८ जनाले लाठी, भाटा लगायतले आक्रमण गरेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ । सो क्रममा एक जना प्रहरीसमेत घाइते भएको छ । पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने अन्य ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij