वेबटिभी खबर
काठमाडाैं । अविरल वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ। काभ्रेको धुलिखेल नगरपालिका-८, जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा आज बिहान करिब ८ः५५ बजे सडक माथिबाट ढुंगा-माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण उक्त सडकखण्ड भएर काठमाडौं आवतजावत गर्ने यातायातका साधन रोकिएका छन् ।
सडक अवरुद्ध भएपछि काठमाडौंँबाट काभ्रेको कोसीपारी क्षेत्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने सबै सवारीसाधन प्रभावित भएका छन् । यसअघि नै बीपी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको अवस्थामा अरनिको राजमार्ग पनि बन्द भएपछि पूर्वी जिल्लातर्फ जाने यातायातका लागि थप समस्या सिर्जना भएको छ ।
बीपी राजमार्ग अवरुद्ध भएपछि दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङलगायत पूर्वी जिल्लातर्फ जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै आवतजावत गर्दै आएका थिए । तर अरनिको राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंसँग पूर्वी जिल्लाको सडक यातायात सम्पर्क थप प्रभावित भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भएपनि लगातारको वर्षाका कारण थप पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि विभिन्न स्थानबाट आएका तथा पूर्वतर्फ जान लागेका सवारीसाधन बाटोमै रोकिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij