वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडक पेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको र मातृ मृत्युदर घटिरहेको भन्दै गर्व गरिए पनि व्यवहारमा नागरिकले पाउने स्वास्थ्य सेवामा ठूलो समस्या रहेको बताइन् ।
उनले भनिन्, ‘हामी गर्व गर्ने गर्छौँ, नेपालमा संस्थागत प्रसूति निःशुल्क छ, आमा सुरक्षा कार्यक्रम छ, मातृ मृत्युदर घटिरहेको छ । यहाँसम्म कि यातायात प्रोत्साहन खर्च पनि दिइन्छ। तर गजेन्द्र नारायण सिंह अस्पताल, त्यो पनि संघीय सरकारी अस्पतालको नजिकै सडकपेटीमा एउटी आमाले बच्चा जन्माउनुपरेको दृश्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड हामीसामु ल्याइदिएको छ ।’ संविधानमा स्वास्थ्यको हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरिए पनि कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले व्यवहारमा पाउने सेवाबीच ठूलो दूरी रहेको उनले बताइन्।
प्रसव पीडामा अस्पताल पुग्ने महिलाको तत्काल ट्रायज र इमर्जेन्सी क्लिनिकल असेसमेन्ट सुरु गर्नुपर्ने भन्दै उनले मटर्नल फिटल इभ्यालुएसनसमेत तत्काल गर्नुपर्ने बताइन् । प्रसव पीडामा अस्पताल पुगेकी महिलालाई तत्काल भर्ना गरेर निरन्तर निगरानीमा राख्नुपर्ने उनको भनाइ थियो । अस्पतालमा भर्ना भएकी बिरामी सम्पर्कविहीन हुँदा खोजी नगर्नु र परिवारलाई सम्पर्क नगर्नु गम्भीर लापरबाही भएको उनले प्रश्न उठाइन् । कार्कीले प्रसवका लागि अस्पताल पुगेकी महिलालाई सुरक्षित रूपमा भर्ना गर्ने, आवश्यक परे ट्रान्सपोर्ट गर्ने र नियमित निगरानी गर्ने जिम्मेवारी अस्पतालकै हुनुपर्ने बताइन् । बिरामी बेडमा नभेटिएपछि खोजी गर्ने र फारममा राखिएको फोन नम्बरमार्फत तत्काल सम्पर्क गर्नुपर्ने उनको भनाइ थियो ।
ब्लड टेस्टका लागि पैसा नभएको अवस्थामा समेत सामाजिक सेवा एकाइ र आमा सुरक्षा कार्यक्रम तत्काल सक्रिय हुनुपर्ने उनले बताइन् । आमा सुरक्षा कार्यक्रम बच्चा जन्माउने प्रक्रियामा मात्र सीमित हुन नहुने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढाएको र नेपाल मेडिकल काउन्सिलको टोलीसमेत पुगेको उल्लेख गर्दै कार्कीले छानबिन दोषी पहिचान र कारबाहीमा मात्र सीमित हुन नहुने बताइन् । भविष्यमा यस्ता घटना दोहोरिन नदिन समाधानका उपायसमेत अघि बढाउनुपर्ने उनको जोड थियो ।
त्यस्तै, आमा सुरक्षा कार्यक्रमलाई ‘कम्प्लिट मटर्नल प्याकेज’का रूपमा व्यवस्थित गर्नुपर्ने उनले माग गरिन् । प्रसूति तथा शिशु सेवासँगै आवश्यक जाँच, औषधि, उपचार, भिडियो एक्सरे, सुत्केरी सेवा र परिवार नियोजनसम्मका सेवामा कार्यक्रमले समेट्नुपर्ने उनको भनाइ थियो । कतिपय अस्पतालले औषधि निःशुल्क नदिने तथा भिडियो एक्सरेलगायतका सेवामा शुल्क लिने गरेको भन्दै उनले यस्तो अवस्थामा आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्ने बताइन् । उनले प्रत्येक अस्पतालमा सामाजिक सेवा एकाइलाई २४ सै घण्टा सक्रिय राख्नसमेत माग गरिन् ।
गरिब बिरामी आफैँले पैसा जुटाउने वा सहयोग खोज्ने अवस्था अन्त्य गरी अस्पतालले नै आर्थिक रूपमा कमजोर बिरामी पहिचान गरेर आवश्यक सहयोग उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो । कार्कीले प्रत्येक अस्पतालमा विस्तृत ‘मटर्नल केयर अडिट’को व्यवस्था गरी त्यसको नियमित नियमन र आवश्यक कारबाही गर्नुपर्ने मागसमेत गरिन्। बिरामी कति आए, कति सुत्केरी भए र कति जनाको अपरेसन भयो भन्ने तथ्यांक मात्र नभई बिरामी कुन समयमा अस्पताल आइपुग्यो, ट्रायज भयो कि भएन, उपचार प्रक्रिया कसरी अघि बढ्यो भन्ने विषयसमेत अभिलेख र मूल्यांकनमा समेटिनुपर्ने उनले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij